चीनले गत सातादेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेपछि दसैं र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएका छन् ।
तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको हो । निर्यातमा रोक लगाएसँगै व्यापारीका अर्बौं मूल्य बराबरका सामान केरुङमै थन्किएका छन् । केरुङमा रोकिएको सामान करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको छ ।
कोरोनाका कारण चीनले अगस्ट २१ सम्म केरुङलगायत तिब्बतमा लकडाउन गरेको छ । तिब्बतमा लकडाउन भएका कारण केरुङसम्म आइसकेको सामान डाइभर्ट गरेर ल्याउन पनि नसकिने व्यवसायी बताउँछन् । केरुङबाट एक सातामा काठमाडौं आइपुग्ने सामान डाइभर्ट गरेर ल्याउन दुई महिना लाग्छ ।