अर्थमन्त्रीमा जनार्दन शर्मा पुन: नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अर्थमन्त्रीमा शर्मालाई नियुक्त गरेकी हुन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
शर्मामाथि केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो। संसदीय छानबिन विशेष समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो। अर्थमन्त्री शर्माले पूर्वनासु रघुनाथ घिमिरे र व्यापारिक घरानाका एक ‘फाइनान्स डाइरेक्टर’लाई जेठ १४ गते मध्यराति मन्त्रालयमा प्रवेश गराएर बजेटमा राजस्व र करका दर तलमाथि गरेको उनीमाथि आरोप थियो।