काठमाडौं महानगरपालिकासँग केही गुनासो भए वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आजदेखि राष्ट्रिय सभागृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।
सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।’