बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनको राजधानी किभमा पुगेका छन् । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ ।
शनिबार जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री जोनसनले युक्रेनलाई १२० बख्तरबन्द गाडी र पानीजहाजमा मार हान्न सक्ने क्षेप्यास्त्र सहयोग गर्ने बाचा गरेको १० डाउनिङ स्ट्रिटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै जोनसनले युक्रेनलाई ७७ करोड पाउण्ड सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
उनको भ्रमण अन्तिम समयसम्म गोप्य राखिएको थियो । लण्डनस्थित युक्रेनी दूतावासले सामाजिक सञ्जाल ट्विटरमा जोनसन र जेलेन्स्कीले सँगै खिचाएको तस्वीर राखेपछि मात्र उनी युक्रेन पुगेको खुलासा भएको थियो ।
भेटवार्तापछि प्रधानमन्त्री जोनसनले विज्ञप्ति जारी गर्दै युद्धको समयमा युक्रेनी राष्ट्रपतिको अटल नेतृत्व र युक्रेनी जनताको साहसको प्रशंसा गरेको बताएका छन् । त्यस्तै, युक्रेनलाई सहयोग गर्न संयुक्त अधिराज्य बेलायत सधैँ तयार रहेको समेत जोनसनको भनाइ छ ।
त्यस्तै, जेलेन्स्कीले बेलायतको ‘निर्णायक एवम् महत्वपूर्ण समर्थन’ को स्वागत गर्दै पश्चिमा मुलुकहरुलाई रुसमाथि दबाब बढाउन आग्रह गरेको बताइएको छ ।