आज पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने भएको छ । अर्थतन्त्रलाई गलत ढङ्गले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुन लागेको हो ।
तीन सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ ।
विपक्षी दलले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गर्न नसक्ने दाबी गर्दै आएका छन् ।
अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का एक सय सांसदले हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने तर आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएको जनाइएको छ ।
पाकिस्तानको सर्वोच्च अदालतले बिहीवार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटनलाई बदर गरिदिएको थियो । साथै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।