रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमाथि गरेको आक्रमणमा रुसी सेनाले साहसपूर्वक काम गरेको बताएका छन् । उनले भने, ‘ रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।’
रुसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए ।
रुसकाे सुरक्षा परिषद्को एक बैठकमा उनले हिजाे बिहीवार याे धारणा राखेको सिन्ह्वाले जनाएकाे छ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ, पुटिनले भनेका छन् ।
रुसले गएकाे हप्तादेखि नै युक्रेनमा आक्रमण गरिरहेकाे छ । हिजाे रातिसम्म पनि युक्रेनकाे राजधानी र अन्य कतिपय सहरहरूमा रुसी सेनाले आक्रमण गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।