News in Nepali

रूस–युक्रेन द्वन्द्वमा फसेका २ सय ४४ नेपाली पुगे सुरक्षित स्थानमा

Lumbinikhabar Online

रूस–युक्रेन द्वन्द्वमा फसेका र त्यसबाट प्रभावित २ सय ४४ नेपाली सुरक्षित स्थानमा पुगेका छन्।

एनआरएनद्धारा गठित रूस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति अनुसार युक्रेन छोडेर २४४ जना नेपालीहरू छिमेकका विभिन्न मुलुकमा सुरक्षित पुगेका छन्।

युक्रेनबाट पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ , हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्। यस्तै थप १५४ जना नेपाली यसअघिनै सुरक्षित स्थानमा पुगिसकेका छन्।

सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रो मूलुक जान रोकिएका छन् ।

उनीहरुले आज साँझसम्म सीमा क्रस गर्न सक्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए ।

उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले सङ्घका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ परिचालित भएको जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?