‘म्रिया’ र ‘ड्रिम’ भनिने विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा ध्वस्त भएको छ । यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको उक्त विमानलाई रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीहरुको दाबी छ ।
तर यो विमान ध्वस्त पारिएको पुष्टि भने हुन सकेको छैन । एन्टोभोन कम्पनीका अनुसार विज्ञद्वारा अनुसन्धान नभएसम्म उक्त विमानको प्राविधिक अवस्थाबारे थाहा नहुने बताएको छ ।
युक्रेनको राज्य रक्षा कम्पनी युक्रोबोरोन्प्रोमले आइतबार एक वक्तव्य जारी गर्दै भनेको छ । ‘विमान पुनर्निर्माणमा ३ बिलियन अमेरिकी डलर खर्च हुनेछ र यसलाई बनाउन पाँच वर्ष लाग्नेछ, हाम्रो चाहना यो छ कि उक्त विमान बनाउने खर्च रसियाले उठाओस् जसले युक्रेनको उड्डयन र कार्गो क्षेत्रमा नियोजित क्षती पुर्याउने उद्देश्य राखेको छ ।’
पछि जारी गरिएको वक्तव्यमा कम्पनीले दिएको जानकारी अनुसार उक्त विमान किएभ नजिकै मर्मतका लागि पार्क गरेर राखिएको अवस्थामा थियो ।
‘एन्टोनोभ एयरलाइन्सका निर्देशकका अनुसार एउटा इन्जिन मर्मतका लागि निकालिएको थियो र उपयुक्त आदेश दिएपनि त्यसदिन विमानले उडान भर्न सकेको थिएन,’ उक्त वक्तव्यमा भनिएको छ ।
रसियाली सेनाले एएन–२२५ राखिएको होस्टोमेल एयरफिल्म कब्जा गरेको शुक्रबार दाबी गरेको थियो ।