नेपाल प्रज्ञा प्रतिष्ठानले ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट कवि तथा निबन्धकारहरुलाई पुरस्कृत गरेको छ ।
यसरी पुरस्कृत हुनेहरुमा निबन्धतर्फ गोविन्दगोपाल खतिवडा (तनहुँ) प्रथम; रेजिना आपगाईं (तेह्रथुम) द्वितीय; गणेश दङ्गाल (काठमाडौँ) तृतीय भएका थिए । उत्कृष्ट भएका निबन्धहरुमा ‘सौन्दर्यको भूमिमा सम्भावनाको बीज’, ‘मेरो देशको सुगन्ध’, ‘सयौँ थुँगा, धागो र माला’ निबन्ध क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
यसैगरी कवितातर्फ तेज राई (खोटाङ) प्रथम; बासुदेव पाण्डेय ‘प्रभाकर’ (बैतडी) द्वितीय; सविता बराला (ताप्लेजुङ) तृतीय भएका थिए । उत्कृष्ट कविताहरुमा ‘भित्र्याउन छ घरभित्र सह’; ‘पहिचान र लोकतन्त्र’; र ‘ढोका उघारौँ अब’ कविता क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कवि तथा निबन्धकारहरुलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा ६७ वटा निबन्ध र कविता २६५ वटा प्राप्त भएको प्राज्ञ शशि लमुम्बुले जानकारी दिए ।
कुलापति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा प्रतिष्ठानको प्राङ्गणमा आयोजित कार्यक्रममा उपकुलपति जगमान गुरुङले प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय लगाएतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।