शुक्रबार देखि हुने नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको तयारी ९० प्रतिशतले सकिएको र बाकी १० प्रतिशत काम राती १० बजेसम्म सकिने बताइएको छ ।
बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस काठमाण्डाै जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटनलगायतका कामकाे तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।
प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताउनुभयो । उहाँले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताउनुभयो ।
संयोजक पुडासैनीले भन्नुभयो, ‘अब हामी तयारीको अन्तिम स्थितिमा पुगेका छौँ । मञ्च तीन चरणमा छ, पहिलोमा सांस्कृतिक सङ्घको कार्यक्रम हुन्छ जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुति दिने गरी व्यवस्था गरेका छौँ । मञ्चकाे दोस्रो चरणमा पार्टीका शीर्ष नेता, अन्य पार्टीका शीर्ष नेता, विदेशी पाहुनालाई राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिलाई राख्नेछौँ । महाधिवेशनमा साढे तीन लाखदेखि चार लाख जना मानिस सहभागी हुन्छन् ।’