चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ । भिजेको आउटफिल्डको कारण ७ ओभरमा छाेट्याइएकाे खेलमा जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै पूरा गर्यो ।
पोखरा रिचार्ड लेभी २२ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान रित गौतम १४ बलमा १ चौका सहित १२ रनमा बोल्ड आउट भए । पहिलो विकेटका लागि लेभी र रितले ५.२ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।
ललितपुरका अजमतुल्लाह ओमरजाईले पहिलो ओभरमा ९ रन खर्चेका थिए । दोस्रो ओभरमा रिजन ढकालले ५ रन खर्चिए । तेस्रो ओभरमा योगेन्द्रसिंह कार्कीले ९ रन खर्चिएका थिए । रिजन ढकालले चौथो ओभरमा २ चौका सहित १२ रन खर्चिएका थिए । पवन सरार्फले पाँचौं ओभरमा ४ रन दिए । छैटौं ओभरको दोस्रो बलमा अजमतुल्लाहले रितलाई बोल्ड आउट गरे ।
छैटौं ओभरमा अजमतुल्लाहले १ विकेट लिएर २ रन दिएपछि खेल अन्तिम ओभरमा पुगेको थियो । अन्तिम ओभरमा पोखरालाई जितको लागि ११ रन आवश्यक परेको थियो । पवनलाई पहिलो बलमा लेभीले चौका प्रहार गरे । दोस्रो बलमा लेभीले छक्का प्रहार गर्दै जित सहज बनाए । एक रन चाहिँएको बेला लेभीले तेस्रो बलमा चौका प्रहार गर्दै खेल जिताए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्ढा ढिलो हुँदा खेल ७–७ ओभरमा झारिएको थियो । ललितपुरका विकेटकिपर सान्दुन वीराक्कोडीले १६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १९ रन बनाएका थिए ।
पहिलो ओभरमा केज्रिक विलियम्सले ७ रन खर्चेका थिए । तीव्र गतिका बलर विक्रम सोबको दोस्रो ओभरको पहिलो बलमा कप्तान कुशल भुर्तेल थर्डमा नन्दन यादवबाट ३ रनमा सहज क्याच आउट हुन पुगे । दोस्रो ओभरमा विक्रमले एक चौका सहित एक विकेट लिँदै कुल ७ रन खर्चेका थिए । नन्दन यादवको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका पवन सरार्फ लोकेश बमबाट ५ रनमा आउट भए । नन्दनले यस ओभरमा ६ रन खर्चिए ।
विक्रमको चौथो ओभरको पहिलो बलमा ठूलो सट खेलेका अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ डिप मिडविकेटमा सुनिल धमलाबाट एक रनमा क्याच आउट हुन पुगेका थिए । विक्रमले चौथो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । मध्यगतिका साहन आर्चचिगेले पाँचौं ओभरमा एक चौका र एक छक्का सहित कुल १४ रन खर्चिए । केज्रिकको छैटौं ओभरको तेस्रो बलमा सान्दुन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगे । केज्रिकले छैटौं ओभरमा १ विकेट लिँदै कुल १० रन खर्चेका थिए ।