भारतले ओलम्पिकको एथलेटिक्स प्रतिस्पर्धामा पहिलो पटक स्वर्ण जितेको छ।
भारतले ट्रयाक एन्ड फिल्डमा १ सय २१ वर्षपछि पदक जितेको छ । सन् १९०० को पेरिस ओलम्पिकमा नोर्मन प्रिचार्डले भारतका लागि २०० मिटर दौड र २०० मिटर हर्डल्समा दुई रजत जितेका थिए । उनी ब्रिटिस–इन्डियन थिए ।
टोकियो ओलम्पिकअन्तर्गत भारतले शनिबार पुरूष ज्याभलिन थ्रोमा स्वर्ण जितेको हो। भारतका नीरज चोपडाले शनिबार स्वर्ण जितेका हुन्।
यसअघि भारतका कुनै पनि एथलेटिक्स खेलाडीले ओलम्पिकमा स्वर्ण जित्न सकेका थिएनन्।
२३ वर्षीय चोपडा सन् २०१८ को कमनवेल्थ गेम्सका च्याम्पियन हुन्।
उनले टोकियोमा ८७.५८ मिटर थ्रो गर्दा स्वर्ण पक्का भएको थियो। स्वर्ण जितेपछि उनले ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन्।
उनी ओलम्पिकमा भारतका लागि स्वर्ण जित्ने दोस्रो खेलाडी हुन्। यसअघि बेइजिङ ओलम्पिक २००८ मा सुटिङ खेलाडी अभिनव बिन्द्राले भारतका लागि १० मिटर एयर राइफलमा स्वर्ण जितेका थिए।