टप खबर

डेल्टा प्रजातिको कोरोना फैलिएपछि सिड्नीमा लकडाउनको तयारी

Lumbinikhabar Online

निकै संक्रामक मानिने कोरोनाको नयाँ प्रजाति डेल्टा संक्रमण बुधबार १६ जनामा पुष्टि भएपछि अष्ट्रेलियाली सहर सिड्नीमा प्रतिबन्धहरु लागू गर्ने तयारी भएको छ ।

बुधबार थप १६ सहित ३७ जनामा अहिलेसम्म भाइरस पुष्टि भएपछि सिड्नीमा थप सतर्कता अपनाउँदै प्रतिबन्धहरु लागू गर्ने तयारी भएको बीबीसीले जनाएको छ । ५३ लाख जनसंख्या बसोबास गर्ने सिड्नी सहरका बासिन्दाले अब घरभित्रै बस्दा पनि मास्क अनिवार्य लगाउनुपर्ने भएको छ भने अन्य सहरमा जान समेत रोक लगाइएको छ ।

गत डिसेम्बरपछि सिड्नीमा भेटिएको यो अहिलेसम्मकै उच्च संक्रमण हो । यसअघि एकवर्षसम्म सिड्नीमा भाइरसको संक्रमण नभएपछि जनजीवन सामान्य भएको थियो । तर, पछिल्लो साता संक्रमण ह्वात्तै बढेपछि अधिकारीहरुलाई सामाजिक दूरीको नियम लागू गराउन दबाब परिरहेको छ ।

बुधबारदेखि अधिकतम घरमा पाँचजना मात्र पाहुना आउन पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, जिम, खेलकुद मैदान र सार्वजनिक हुने ठाउँमा भेला हुन रोक लगाइएको छ । मध्य र पूर्वी सिड्नीमा रहेर काम गर्ने र बस्ने बासिन्दालाई अर्को सहरमा जान प्रतिबन्ध लगाइएको छ । न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले सिड्नीभर जोखिमपूर्ण अवस्था रहेको बताए ।

Tags

छुटाउनु भयो कि ?