समाचार

साल्ट ट्रेडिङ र खाद्य व्यापारले अत्यावश्यक सिमित खाद्य वस्तुमा २० प्रतिशत छुट दिने

Lumbinikhabar Online

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पोरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्दा उक्त छुट पाइने व्यवस्था गरिएको थियो ।

अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।

कर्पोरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।

Tags

छुटाउनु भयो कि ?