कोरोनाभाइरस महामारीविरुद्ध बेलायतले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आज बिहान स्वास्थ्य सामग्री ल्याएर आइपुगेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
उपलब्ध गराइएका सामग्रीमा २६० थान भेन्टिलेटर, १९ हजार २०० आइ प्रोटेक्टर लगायत छन् । बेलायतकै सामाजिक संस्था नेपालमेडयुकेले उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर पनि जहाजमा आइपुगेको छ । बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिन् । सामग्री बुझ्दै मन्त्री त्रिपाठीले सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद दिए ।