कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी भएपछि त्यसमा भएका प्रावधान कार्यान्वयन गर्न आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ।
निषेधाज्ञालाई थप कडाई गर्ने र उल्लंघन गरे जरिवान समेत गर्ने गरी जारी गरिएको अध्यादेशको प्राब्धानलाई कार्यान्वनको विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सरकारले केही दिन अघि जारी गरेको अध्यादेशको बारेमा छलफल हुनेछ। निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा बुधबारबाट लागू गर्ने तयारी गरेको पनि जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ।
काठमाडौ उपत्यकामा पहिलाको भन्दा संक्रमणदर कम हुदै गएको अवस्थामा एक हप्ता अझै कडाई गर्ने हो भने थप कम हुने बुझाई उपत्याकाका प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ रहेको छ।
सरकारले जारी गरेको नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ। नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ।
नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा मात्रै प्रत्येक पटक दुई सय रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था उल्लेख रहेको रहेको छ।
नयाँ अध्यादेश कार्यान्वयनको सवालमा प्रहरीले दुई दिन अघिबाटै चेकजाँचलाई कडाई बनाएको छ । बुधबारबाट झन कडाई गर्ने प्रहरी अधिकारीहरुले जनाएका छन्। उनीहरुले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगर्नेलाई कडा कारवाही गर्ने जनाइसकेका छन्।