वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ।
आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ। निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहितानुसार यही जेठ ३ गते राति १२ बजेपछि मौनअवधि शुरु भइसकेको छ।निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारवाही गर्न सकिने र आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राखिने जनाइएको छ।