टप खबर

४० रुपैयाँमा कोरोनाको नक्कली औषधि बनाएर दलाललाई १३ हजारमा बिक्री

Lumbinikhabar Online

कोरोनाभाइरसका गम्भीर बिरामीहरुलाई धेरै हदसम्म प्रभावकारी मानिएको औषधि रेम्डेसिभिरको इन्जेक्सन भन्दै नक्कली औषधि बनाएर महंगो मूल्यमा बिक्री गर्ने गिरोहको खुलासा भएको छ । यो गिरोहले भारतको मध्य प्रदेशको रतलाममा रहेर नक्कली औषधि बनाइ दलालमार्फत बिरामीकहाँ पुर्याइरहेका थिए । यो गिरोह एक जना युवकले चलाइरहेका थिए जसकी बहिनी नर्स हुन् ।

यी युवककी बहिनी अस्पतालमा काम गर्छिन् । अस्पतालमा काम गर्ने क्रममा औषधि सबै प्रयोग भएर खाली भएको रेम्डेसिभिरको सिसी ती नर्सले घरमा ल्याएर दाजुलाई दिन्थिन् । दाजुले यो सिसीमा सामान्य एन्टिबायोटिक्स सेफ्ट्रिक्सोन पाउडर हालेर सिसीलाई फेविक्विक लगाएर फेरि सिलबन्दी गरिदिन्थे । सिसीको बाहिर लेखिएको बिरामीको नामलाई सेनिटाइजरले मेटाएर त्यो सिसी कालोबजारी गर्नेहरुलाई ८ हजार भारु (नेपाली १३ हजार रुपैयाँ) सम्ममा बेच्थे ।

दलालहरुको माध्यमबाट यो सिसी अत्यावश्यक बिरामीकहाँ पुग्थ्यो । बिरामीले यो औषधिको लागि ३५ हजार भारु (५६ हजार नेपाली रुपैयाँ) सम्म तिनुपर्थ्यो । पुलिसले यो गिरोहमा रहेर नक्कली औषधिको कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । पक्राउ पर्नेमा रतलामको जीवांश अस्पतालका डाक्टर उत्सव नायक, डा. यशपाल सिंह, मेडिकल व्यापारी प्रणव जोशी, मेडिकल कलेजकी नर्स रिना प्रजापति, रिनाका दाजु पंकज प्रजापति, जिल्ला अस्पतालमा पर्चा बनाउने कर्मचारी गोपाल मालवीय र रोहित मालवीय छन् ।

पुलिसले शनिबार राती जीवांश अस्पतालमा छापा मारेर त्यहाँका २ ड्युटी डाक्टरलाई ३० हजार लिएर इन्जेक्सन बेचेको अवस्थामा रंगेहात समातेको थियो । यहाँबाट डा. उत्सव नायक र डा. यशपाल सिंहलाई पुलिसले पक्राउ गरेको थियो । सोधपुछमा भएको खुलासाबाट फरार आरोपी प्रणव जोशीलाई मदसौरबाट पक्राउ गरियो । त्यसपछि मेडिकल कलेजकी नर्स रिना प्रजापति, उनका दाजु पंकज, गोपाल मालवीय र रोहित मालवीयको बारेमा खुलासा भयो । चारैजनालाई सोमबार पक्राउ गरियो । पुलिसले आरोपीहरुको साथबाट नक्कली इन्जेक्सन, औजार र अन्य सामान जफत गरेको छ । यी सबै सामग्रीलाई फरेन्सिक परीक्षणको लागि प्रयोगशालामा पठाइनेछ ।

Tags

छुटाउनु भयो कि ?