विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रोहबरमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। प्रसाईंलाई शुक्रबार मात्रै प्रहरीले दक्षिणकालीको चाल्नाखेलबाट नियन्त्रणमा लिएको थियो।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पिछा गरेर समातेको थियो ।
पछिल्लो समय ‘राजसंस्था पुनर्स्थापना’ र ‘हिन्दू अधिराज्य’को एजेन्डा लिएर देशका विभिन्न भागमा प्रदर्शन गर्दै हिँडेका प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएको र शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरी दाबी छ। १९ माघमा चितवनमा आयोजित एक कार्यक्रममा उनले ‘पहिला हिन्दू अधिराज्य, अनि मात्र निर्वाचन’ भन्दै अभिव्यक्ति दिएका थिए। उक्त कार्यक्रमका क्रममा उनले प्रशासनले तोकेको निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो।

