नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन सामान्य नभई असाधारण परिस्थितिमा सम्पन्न हुन लागेको बताएका छन्।
निर्वाचन विशेष कार्यक्रम तथा वृहत भेलालाई सम्बोधन गर्दै उनले देश संकटको घडीमा प्रवेश गरेको अवस्थामा यो निर्वाचन अगाडि बढेको उल्लेख गरे।
‘हामी निर्वाचनतिर अघि बढ्दैछौं। यो कुनै नियमित वा साधारण परिस्थितिको निर्वाचन होइन,’ उनले भने, ‘असाधारण परिस्थितिमा आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले यसलाई सामान्य रूपमा बुझ्न हुँदैन।’
उनले जेनजी आन्दोलन र २४ भदौको घटनापछि देश गम्भीर संकटमा परेको भन्दै उक्त संकटबाट देशलाई बाहिर निकाल्ने प्रक्रियाका रूपमा निर्वाचन आएको बताए। प्रचण्डले निर्वाचन प्रक्रिया सफल बनाउन राष्ट्रमा नयाँ शक्ति र नयाँ एकताको आवश्यकता महसुस गरिएको बताए।
सबै प्रकारका प्रतिक्रियावादी शक्ति तथा वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्न नयाँ पहल आवश्यक ठानेर नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो।

