नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) लाई पनि आफ्नो पार्टीसँग एकता गर्न अपिल गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एमाले ओखलढुंगा जिल्ला कमिटीलाई नेकपामा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि अपिल गरेका हुन्। ‘नेकपा (एमाले)लाई कुनै भ्रममा नरहन, साच्चै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने।

मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उनको भनाइ थियो। त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको एकता जरुरी रहेको उनले बताए।
उनले मुलुकलाई संकटबाट जोगाउनका लागि एकता अभियानलाई तिब्रता दिएको उनले बताए। मुलुकमा प्रतिक्रियावादीको चलखेललाई रोक्न पनि सबै देशभक्तले एकतावद्ध भएर अघि बढनुपर्नेमा उनले जोड दिए।

