आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् ।
आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।
नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ ।
आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
साथै १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ । साथै मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।

