टप खबर

यो देशको सर्वेसर्वा जनता नै हुन् – प्रधानमन्त्री सुशीला कार्की

Lumbinikhabar Online

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने धारणा राखेकी छन्।

प्रधानमन्त्री कार्कीले दलहरू र जेनजी प्रतिनिधिको कुरा सुनेपछि भनिन्, ‘कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो आआफ्नो कुरा हो। तर यो देशको सर्वेसर्वा जनता नै हुन्। राजनीतिक दलहरू जनताको सेवक हुन्। अहिले जनताको माग के छ ? जनतामा कस्तो प्रभाव परेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ।’

उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर कोही पनि सफल नहुने बताउँदै जनताको मागअनुसार दलहरू सच्चिनुपर्ने वकालत गरिन्।

विगतका कमजोरीका कारण भदौ २३ र २४ गते आन्दोलन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले जेन‍-जी र राजनीतिक दल दुवै पक्षबाट सरकारमाथि निरन्तर आक्षेप आइरहेको गुनासो गरिन्।

भदौ २३ र २४ गतेका घटनाको आवेग अहिले सरकारले झेलिरहेको कार्कीले बताएकी छन् । ‘यो देशका सर्वेसर्वा जनता जनार्दन हुन्। राजनीतिक दलहरू जनताको सेवाका लागि हुन्’, उनले भनिन्, ‘आफ्नो भागबण्डा नमिलेको आवेग जनतामाथि खन्याउनु हुँदैन। जनताले परिवर्तन खोजेका छन् भने दलहरू पनि सच्चिनुपर्छ।’

उनले हिजोका त्रुटि र गल्ती अब सुधारेर जानुपर्नेमा जोड दिइन । ‘हिजो जे त्रुटि भए, जे गल्ती भए र जसको परिणाम भदौ २३ र २४ का घटनामा देखियो, त्यसको आवेग आज हामीले सहिरहेका छौँ’, उनले थपिन्, ‘जेन-जी र राजनीतिक दल दुवैबाट आलोचना भइरहे पनि हामी अचानो होइनौँ। मुलुकको निम्ति आएका सबै आक्षेप सहन तयार छौँ।’

Tags

छुटाउनु भयो कि ?