देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा एकमत भएका छन् ।
अन्ततः कांग्रेस पनि एमालेकै एजेन्डामा सहमत भएपछि संसद् पुनर्स्थापनाका लागि बहुमत हस्ताक्षर सर्वोच्चमा लान लागिएको हो । यसअघि एमालेले गत मङ्सिर ९ गते नै सर्वोच्चमा रिट निवेदन दिइसकेको छ । जसमा सर्वोच्चले कारण देखाउ आदेश दिइसकेको छ।
गत मङ्सिर १९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएपछि त्यसको पर्सिपल्ट मङ्सिर २१ गते ८ जना सांसदको हस्ताक्षर कांग्रेस पनि सर्वोच्च पुग्यो । त्यही रिट निवेदनमा पक्ष कायम गरी पाऊँ भनेर पूरक निवेदन दिने तयारी कांग्रेसको छ।
विगठित सांसद्का प्रमुख सचेतक श्याम घिमिरेका अनुसार हालसम्म ६३ जनाभन्दा बढी सांसदको हस्ताक्षर सङ्कलन भइकेको छ ।
एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिन कांग्रेसलाई पटक–पटक आग्रह गरेको थियो। तर, सभापति देउवाले त्यसबारे छलफल गर्ने भन्दै टारेका थिए। देउवाकै जवाफअनुसार केन्द्रीय समितिको बैठक बसेर प्रतिनिधिसभा पुनर्स्थापनातिर अघि बढ्ने निर्णय कांग्रेसले गरिसकेको छ।
काग्रेस संस्थापन पक्ष प्रतिनिधिसभा पुनर्स्थापनाको बाटोमा जाँदा इतर अर्थात् डा. शेखर कोइरालाको टिम असन्तुष्ट छ।

