बिबिध

ओइन्ड्रेला अक्तर बिटीको अन्तर्राष्ट्रिय कला प्रस्तुति

Lumbinikhabar Online

काठमाडौँ, डिसेम्बर १६
बंगलादेशकी प्रसिद्ध अन्तर्राष्ट्रिय नृत्य तथा गायन कलाकार ओइन्ड्रेला अक्तर बिटीले काठमाडौँको थलीस्थित मिनिल्यान्ड इङ्ग्लिस सेकेन्डरी स्कुलमा आफ्नो मनमोहक प्रस्तुतिमार्फत विद्यार्थी र अतिथिहरूलाई मन्त्रमुग्ध बनाइन्। उनले बंगलादेशी संस्कृतिको सुन्दर झल्को प्रस्तुत गर्दै नृत्य प्रदर्शन गरिन् र विद्यार्थीहरूका लागि अन्तरक्रियात्मक नृत्य कार्यशाला पनि सञ्चालन गरिन्।

विद्यालयका प्रधानाध्यापक मणिराम वाग्लेले यस्ता सांस्कृतिक आदान–प्रदानले नेपाल–बंगलादेश बीचको मित्रता अझ सुदृढ हुने बताए। विद्यालयका अध्यक्ष डा. जयराम वाग्लेले कलाकारलाई मायाको चिनो, सम्मानपत्र तथा उपहार प्रदान गर्दै संगीत र नृत्यको कुनै सीमाना नहुने कुरा उल्लेख गरे।

कार्यक्रमको विशेष आकर्षण ओइन्ड्रेलाले मधुर स्वरमा प्रस्तुत गरेको नेपाली गीत थियो, जसले उपस्थित सबैको मन जित्दै ठूलो ताली पायो।

बंगलादेश टेलिभिजन (BTV) तथा बंगलादेश शिल्पकला एकेडेमीकी सूचीबद्ध कलाकार ओइन्ड्रेला सन् २००४ देखि मणिपुरी, भरतनाट्यम, लोक तथा सिर्जनात्मक नृत्यमा सक्रिय छिन्। उनले नेशनल अवार्ड तथा भारतको महात्मा गान्धी अन्तर्राष्ट्रिय अवार्ड लगायत थुप्रै प्रतिष्ठित सम्मान प्राप्त गरिसकेकी छिन् र एशिया तथा मध्यपूर्वका विभिन्न देशहरूमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन्।

हालै काठमाडौँमा आयोजित समारोहमा उनले एशियन एक्सेलेन्स एचिभर्स अवार्ड २०२५ प्राप्त गरिन्।

सोही कार्यक्रममा एशियन एक्सेलेन्स एचिभर्स अवार्ड प्राप्तकर्ता साइमा अनिका पनि विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्। उनी बंगलादेशमा सामाजिक अभियन्ता तथा उद्यमीका रूपमा सक्रिय रहँदै सामुदायिक विकास र रोजगारी सिर्जनामा योगदान दिइरहेकी छिन्।

Tags

छुटाउनु भयो कि ?