मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ प्रदेशसभा सदस्यको विश्वासको मत उनले प्राप्त गरेको उपसभामुख बविता राउत इशरले घोषणा गरे ।
नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनमा जसपा नेपाल, जनमत, नेकपा (माओवादी केन्द्र), लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिएको र प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल सङ्घीय समाजवादी पार्टीले विश्वासको मत दिएको हो ।
गत मङ्सिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले गत मङ्सिर २१ गते पद तथा गोपनीयताका शपथ लिएका थिए । सोही दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए ।

