टप खबर

सरकारका कदमविरुद्ध निर्णायक संघर्ष गर्ने ओलीको घोषणा

Lumbinikhabar Online

नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार भिड्न तयार रहेको चेतावनी दिएका छन्।

उनले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्बोधनका क्रममा पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे । ओलीले सरकारका कदमविरुद्ध निर्णायक संघर्ष गर्ने पनि घोषणा गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमाथि भौतिक आक्रमण, जाली मुद्दा र पञ्चायतकालीन शैलीका गतिविधि भइरहेको आरोप लगाए। ‘एमाले नेतृत्वलाई छोएका दिन देश खत्तम हुन्छ,’ उनले भने, ‘यदि झूटा मुद्दामा एमाले र नेतृत्वलाई छुने काम भएमा सरकार ढल्छ, हामी ढालिदिन्छौँ।‘

अध्यक्ष ओलीले एमालेमाथि हुने कुनै पनि आक्रमणको देशव्यापी रूपमा कडा जवाफ दिने चेतावनी दिए। ‘एमालेलाई छोयो भने संसारमै महंगो पर्ने गरी जवाफ दिन तयार छौँ,’ उनले भने, “फेरि पनि आक्रमणको प्रयास भयो भने प्रतिकार हुन्छ।’

उनले लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेको पार्टीलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै त्यसमा संलग्न शक्तिहरूको आलोचना गरे।

ओली वर्तमान सरकार चुनाव गराउनेतर्फ नभई षड्यन्त्रको तयारीमा लागेको बताए। जेन–जीसँग गरिएको सम्झौतालाई उनले षड्यन्त्रको संज्ञा दिँदै यो सरकार संविधान संशोधनका लागि नभई निर्वाचन गराउन बनेको सरकार भएको बताए।

Tags

छुटाउनु भयो कि ?