टप खबर

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

Lumbinikhabar Online

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनुभएका आयोगका सचिव माहादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन्।

उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी कार्यरत रहनेछन्। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।

कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने विश्वास व्यक्त गरे।

उनले सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्यांक कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैंगिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबैपक्षको भरोसा रहने उल्लेख गरे।

सो कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर रसगुन शम्शेर जबरा एवं आयोगका कर्मचारीको उपस्थिति थियो।

Tags

छुटाउनु भयो कि ?