प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारेकी छन् ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्- ‘हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन । हामी रोकिँदैनौँ ।’
निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उनले बताइन् । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरु नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको पनि उनले प्रस्ट्याइन् ।
अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनले बताइन् । उनले भनिन्- ‘तपाईँहरुले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरुले कदम चालेका छन् ।’
सबै क्षेत्रको अति दलीयकरण हुँदा पनि मुलुकले प्रगति गर्न नसकेको टिप्पणी पनि उनले भनिन् । उनले भनिन् ‘यहाँ किसानका नाममा पनि राजनीति भयो। किसानले मल पाउँदैनन् तर किसानको नेता देश-विदेश घुमिरहेको हुन्छ। मन्त्री-सांसद बनिरहेको हुन्छ। कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ। सहुलितको मल, बिउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ। अरु व्यवसाय गर्नेहरुका नाममा पनि राजनीति भयो। आफ्नो पेसा-व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ। भ्रष्टाचारको जड यहाँ पनि छ। यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ?’ यस्तो अवस्था अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै उनले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राखिन् ।

