प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनःस्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी छिन् ।
अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गरेकी छिन् ।
अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानूनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेकी छिन् ।

