काठमाडौं : ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले तीन बर्षको साधारणसभा सम्पन्न गरेको छ ।
शुक्रबार कम्पनीकाे १३औँ, १४औँ र १५औँ संयुक्त साधारणसभा सम्पन्न भएको हाे ।
हकप्रद शेयर जारी गर्ने
साधारणसभाले कम्पनीका कायम शेयरधनी सदस्यले एक कित्ता शेयर बराबर एक कित्ता नै शेयर किन्न पाउने गरी (शतप्रतिशत) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
उक्त पारित प्रस्ताव अनुसार, कम्पनीले हाल कायम जारी तथा चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ बराबर प्रतिकित्ता १०० अङ्कित दरका १ करोड ८० लाख कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो । गत असोज ८ गते बसेको सञ्चालक समितिको बैठक उक्त निर्णय गरेको थियो ।
हकप्रद शेयरबाट जुट्ने पुँजीबाट थप १५ मेगावाट उत्पादनका लागि संरचनाको विकास गर्ने र बाँकी रकम ऋण घटाउन प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ ।
शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रह्यो
साधारणसभाले कम्पनीका अध्यक्ष याङचेन डाेमा लामाले प्रस्तुत गरेका तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक निर्धारण जस्ता सामान्य प्रस्तावहरू पारित गरेको छ ।
साधारणसभामा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो। शेयर सदस्यहरुले कम्पनीका गतिविधिहरुकाे विश्लेषण गर्दै आफ्नो धारणा समेत राखेका थिए।
शेयर सदस्यहरुले दिएका राय, सुझाव र सल्लाहका आधारमा कम्पनी अघि बढ्ने ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडकी प्रबन्ध सञ्चालक केसाङ्ग डिकी लामाले बताइन् ।

