जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारीसाधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए। सो घटनाको सिसीटिभी फुटेज, भिडियो र फोटोका अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ परेका व्यक्तिलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भइसकेको छ। अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

