राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिएको छ। चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उक्त बैठकले देशभरबाट उपस्थित आमन्त्रित प्रतिनिधिहरूबीच देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रुपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक जीवन र तत्कालीन कार्यभारबारे छलफल भएको उनले बताए।
उक्त बैठकबाटै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार पनि शनिबारबाटै आह्वान गरिएको झाले बताएका छन् ।
बैठकमा सह-महामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखाअनुसार समानुपातिक उम्मेदवारी आह्वान गरिएको झाले जानकारी दिए । उनका अनुसार बैठकले समानुपातिक उम्मेदवारीका लागि विभिन्न आचारसंहिता पनि तय गरेको छ। बैठकले योग्यातामा केही कुरा थप्दै समानुपातिकका लागि उम्मेवारी आह्वा गरेको हो ।
रास्वपाले तय गरेको आचारसंहितामा समानुपातिकतर्फ उम्मेदवार हुन सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गरिनुपर्ने भएको छ । त्यसैगरी शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा पनि सम्बन्धित व्यक्तिले गर्नुपर्नेछ । उता उम्मेदवार हुन चाहनेले वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा पनि गर्नुपर्ने भएको छ। कतिपय नेताहरू बहुविवाहसहितका विवादमा जोडिएको अवस्थामा रास्वपाले यस्तो नियम ल्याएको हो ।
रास्वपाले आचारसंहिताको अर्को सूचीमा सार्वजनिक रुपमा कसैलाई गाली गलौज नगरेको स्वघोषणा पनि गर्नुपर्ने नियम राखेको छ ।

