गोकर्णेश्वर नगरपालिकाले नगरभित्रको सुरक्षालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई सहयोगस्वरूप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले शुक्रबार २ वटा मोटरसाइकल, सडकमा राख्ने ट्राफिक डिभाइडर, मापसे (अल्कोहल चेक) मेसिन २ वटा, ३० वटा व्हील लक र ट्राफिक लाइट वितरण गरेको हो ।
नगरपालिकाका प्रमुख दीपक रिसालका अनुसार यो सहयोग नगरभित्रको सुरक्षा सुदृढीकरण र सडक अनुशासन कायम गर्न लक्षित गरिएको हो । “हाम्रो प्राथमिकता नागरिकको सेवा र सुरक्षा हो,” मेयर रिसालले भने, “प्रहरी र ट्राफिकलाई सहयोग गर्नु भनेको जनताको सहजता र सुरक्षामा लगानी गर्नु हो।”
यसअघि पनि गोकर्णेश्वर नगरपालिकाले Gen Z आन्दोलनका क्रममा जलेका प्रहरी बिटहरू पुनर्निर्माणका लागि सहयोग गरेको थियो । साथै, प्रहरी कार्यालय निर्माणका लागि जग्गा दान समेत गरेको मेयर रिसालले बताए ।
उनका अनुसार, केही दिनअघि ८ वटा मोटरसाइकल हस्तान्तरण गरिएकोमा आज थप २ वटा उपलब्ध गराइएको हो । नगरपालिकाको निरन्तर सहकार्यका कारण प्रहरीको चलायमान सेवा क्षमता र जनसुरक्षामा प्रत्यक्ष सुधार हुने विश्वास लिइएको छ ।
स्थानीयवासीले पनि नगरपालिकाको यस पहललाई स्वागत गर्दै भनेका छन्, “नगरले गरेको यस्तो सहकार्यले प्रहरी र नागरिकबीच विश्वास बढाउनेछ, र हाम्रो गल्ली–सडक अझ सुरक्षित बन्नेछ।”

