नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्वअध्यक्ष डा. बाबुराम भट्राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै ढंगले कारागारबाट निकाल्नुपर्ने बताएका छन् ।
रास्वपाले शुक्रबार काठमाडौंमा गरेको ‘बृहत् राजनीतिक संवाद’लाई सम्बोधन गर्दै उनले रविमाथि अन्याय भयो कि भन्ने लागेर आफूले पनि हस्ताक्षर गरेको बताए ।
रविले बाहिर आएरै मुद्दा खेप्दा न्यायपूर्ण हुन्छ भन्ने आफूलाई लागेको डा. भट्टराईले बताए । ‘उहाँको मुद्दामा बाहिर रहेर फेस गर्ने वातावरण बन्न सक्दा राम्रो हुन्छ । उहाँमा जुन क्षमता, प्रतिभा छ, त्यसको प्रयोग पनि हुन पाउँथ्यो भन्ने मलाई लागेको छ।’
उनले त्यहाँ उपस्थित अन्य दलका नेतालाई पनि सबैजनाले न्यूनतम् कुरामा सहमति गरेर एउटै पार्टी बनाउन सुझाएका छन् । उनले सीके राउत, स्वर्णिम वाग्ले, रेशम चौधरीलगायतलाई एउटै मोर्चामा गोलबद्ध हुन आग्रह गरे ।

