नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय गरेको छ ।
यस निर्णयसँगै सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यन्वयनमा गएको छ ।
नेपालमा भाइबर, टिकटक, विटक र निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा छन् ।
उता धेरै प्रयोगकर्ता व्यस्त रहने फेसबुक, ट्वीटर (एक्स) र वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा आएका छैनन् ।
यसअघि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका थिए ।
नेपाल सरकारले दिएको ‘अल्टिमेटम’ सकिएसँगै सामाजिक सञ्जालहरूबारे अनेक चर्चा भइरहेका बेला उनले बिहीबार दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका थिए । उनको संकेतअनुसार नै सञ्चार मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्दको निर्णय गरेको हो ।
‘सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्,’ रिमालले फेसबुकमा लेखेका थिए, ‘लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस् ।’

