टप खबर

सुनमा ल​गाइएको विलासिता कर ह​टाइयो

Lumbinikhabar Online

सरकारले बजेट मार्फत सुनमा तेहरो हिसाबले लाग्ने विलासिता शुल्कसम्बन्धी व्यवस्था संशोधन गरेको छ । सरकारले १५ जेठको बजेट मार्फत सबै किसिमको सुन र सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लगाउने घोषणा गरेको थियो । त्यसअघि १० लाखमाथिको सुनका गहना एकै पटक किन्दा मात्रै २ प्रतिशत विलासी कर लाग्दथ्यो ।

बैङ्कबाट सुनचाँदी महासङ्घले सुन खरिद गर्दा, महासङ्घले व्यवसायीलाई बिक्री गर्दा र उपभोक्ताले खरिद गर्दा प्रत्येक तहमा दुई प्रतिशतका दरले विलासिता कर लाग्ने प्रावधान बजेटमा थियो । तीन तहमा विलासिता कर लगाउँदा उपभोक्तालाई छ प्रतिशतसम्म अर्थात् प्रतितोला १२ हजार रुपियाँसम्म महँगो पर्ने अवस्था थियो । तहगत रूपमा लाग्ने कर हटेपछि अब उपभोक्ताले सुनको खरिद गर्दा दुई प्रतिशत मात्र विलासिता कर तिरे हुने छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक पाण्डेका अनुसार एउटा व्यवसायले अर्को व्यवसायलाई व्यावसायिक प्रयोजनका लागि सुन बिक्री गर्दा २ प्रतिशत विलासिता शुल्क नलाग्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । तर, व्यवसायीबाट उपभोक्ताले खरिद गर्ने सुन तथा सुनका गरगहनामा भने २ प्रतिशत विलासिता शुल्क लाग्ने प्रवक्ता पाण्डेले जानकारी दिए ।

तर, यसअघि १० लाखभन्दा बढी मूल्यका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने गरेकामा बजेटले त्यो थ्रेसहोल्ड हटाइदिएको थियो । त्यसपछि जतिसुकै मूल्यका गहना किन्दा पनि विलासिता शुल्क तिर्नुपर्ने व्यवस्था भने कायमै रहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?