टप खबर

तेल अवीभमा पुष्पाको चीत्कार : “दाइ, म तिमीलाई धेरै धेरै सम्झिरहेकी छु”

Lumbinikhabar Online

कुर्मराज आचार्य ,
तेल अवीभको होस्टेज स्क्वायर मा शुक्रबारको साँझ एक असामान्य मौनता छायो। त्यहाँ उपस्थित सयौँ मानिसहरूको हृदय चुँडिने गरी १७ वर्षीया नेपाली किशोरी पुष्पा जोशीले आफ्नो बन्दी परेका दाइलाई सम्बोधन गरिन्।

“दाइ, म तिमीलाई धेरै धेरै सम्झिरहेकी छु। नमस्ते, शालोम। मेरो नाम पुष्पा हो। म विपिन जोशीकी बहिनी हुँ – जसलाई अक्टोबर ७ मा किबुत्ज अल्मुमिमबाट अपहरण गरिएको थियो।”
उनको यो पहिलो वाक्यसँगै भीड स्तब्ध रह्यो। कतिपयले आँसु पुछ्न सकेनन्।

कृषि विद्यार्थी बिपिन जोशीलाई २०२३ अक्टोबर ७ मा हमास आतङ्ककारीहरूले अपहरण गरेका थिए। करिब दुई वर्षसम्म कुनै समाचार नआएको छ। परिवारले दिनरात प्रार्थना गरे पनि अझै उहाँको जीवित–अजीवित थाहा छैन।

“मेरो दाजु त केवल एक विद्यार्थी हुन्। उनलाई युद्धले समातेको हो – तर उनको कुनै पक्ष छैन, कुनै दोष छैन। हामीलाई यहाँ आउन शक्ति जुटाउनै २२ महिना लाग्यो। नेपालमा हामी एक्लै भयौँ – भाषा, संस्कार र डरले अलग गर्‍यो। हामी निरन्तर प्रार्थना गरिरह्यौँ, तर प्रार्थना मात्र पुग्दैन रहेछ।”

उनका शब्दहरूले उपस्थित सबैको मन छोयो। भीडभित्रका केहीले हातमा नेपाली झण्डा उचाल्दै समर्थन जनाइरहेका थिए।

“आमा र बुबा एकदमै टुटेका छन् – उनीहरू कुनै तरिकाले मात्रै बाँचेका छन्। आफ्नो एक मात्र छोराको सम्झनाले दिनरात रोइरहन्छन्। मैले मेरो दाजुलाई कति सम्झेको छु! मेरो आत्मा, मेरो एक मात्र दाजु, मेरो संसार नै हो उहाँ।”

पुष्पाले दाजुको सपना र उनको उज्यालो जीवनलाई सम्झिइन्:
“उहाँ जसको सपना थियो – केरा फलाएर केरा चिप्स बनाउन। जसले हाँसाएर सबैलाई खुसी पार्थे। जसमा सिर्जनशीलता थियो, रमाइलोपन थियो।”

तर यथार्थ भने अन्धकारमय छ।
“झण्डै दुई वर्ष भइसक्यो – उहाँको जीवनको कुनै चिनो छैन। के उहाँ भोकै हुनुहुन्छ? घाइते हुनुहुन्छ? कि अझै जीवित हुनुहुन्छ? ६८० दिनसम्म कसरी मान्छे नर्कमा बाँच्न सक्छ?”

यस वाक्यपछि उनी रोकिइन्। आँसु पुछ्दै भनिन्:
“हामीलाई उहाँलाई घर फर्काइदिनुहोस्। दाइ, म तिमीलाई हदभन्दा बढी सम्झिरहेकी छु। म तिमीलाई धेरै माया गर्छु। ”

भिडमाझ मौनता छायो। केवल उनका शब्दहरू मात्र होइन, उनका आँसुहरूले पनि सबैलाई भिजाइरहेको जस्तो लाग्यो। आमा पद्मा छेउमै उभिइरहेकी थिइन्, पीडाले काँप्दै।

यो पीडा केवल एउटा परिवारको मात्र होइन, एउटा सिङ्गो राष्ट्रको घाउ हो। विपिन जोशी अझै परत पाउनुपर्ने आशा टुटेको छैन।

Tags

छुटाउनु भयो कि ?