टप खबर

नेपालको मातृशिशु स्वास्थ्य सुधारमा प्रसूति गृहको ऐतिहासिक भूमिका

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको बताए ।

उनले भविष्यमा अस्पताललाई ११ बेड थप गरेर पाँच सय बेड बनाइने र काठमाडौंका दुई नगरपालिकामा ‘२५–२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिए ।

कार्यक्रममा अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए ।

अस्पतालले लैङ्गिक हिंसापीडितका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), दुर्गमका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धारपछिको उपचार र गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाईमार्फत् निःशुल्क उपचारजस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ ।

समारोहमा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पुर्‍याएकाे योगदानको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो ।

Tags

छुटाउनु भयो कि ?