टप खबर

मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा एमाले उपमहासचिव ज्ञवाली चयन

Lumbinikhabar Online

राजधानीमा भव्य कार्यक्रम, ऐतिहासिक योगदान र भावी लक्ष्यबारे व्यापक चर्चा

काठमाडौँ, ८ साउन — विचार, संगठन र समर्पणको तीन दशक लामो यात्रालाई स्मरण गर्दै, मदन आश्रित स्मृति प्रतिष्ठानको ३१औं साधारण सभा शुक्रबार राजधानीको ड्रीम हाउस पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले उपाध्यक्ष गुरु बराल, विशेष अतिथि स्कुल विभाग प्रमुख एवं नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली, तथा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष रामेश्वर फुयाल सभाध्यक्षका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरु बरालले स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको अमर योगदानलाई स्मरण गर्दै भने —
“३१औं वार्षिक साधारण सभा केवल एउटा औपचारिक बैठक होइन, यो हाम्रो राजनीतिक, वैचारिक र संगठनात्मक उत्तराधिकारको पुनः पुष्टि हो।”


बरालले मदन भण्डारीको अद्वितीय नेतृत्व क्षमता, जनसम्पर्कको शैली र विचारलाई संगठनमा रूपान्तरण गर्ने कौशलको प्रशंसा गर्दै, प्रतिष्ठानले नयाँ पुस्तामा भण्डारी–आश्रितको विचारको ज्योति प्रज्वलित गर्न निरन्तर लागिरहनुपर्नेमा जोड दिए।

विशेष अतिथि प्रदीप ज्ञवाली : “मदन भण्डारीले हिंसा होइन, जनमुखी परिवर्तनको बाटो देखाए”

विशेष अतिथि तथा नव–निर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीले आफ्नो सम्बोधनमा स्व. प्रदीप नेपाललाई श्रद्धा अर्पण गर्दै, प्रतिष्ठानको ऐतिहासिक यात्रा, वर्तमान चुनौती र भावी लक्ष्यबारे विस्तृत धारणा राखे।

उनले भने —
“मदन भण्डारी र जिवराज आश्रितको जीवन यात्रा विचार र संगठनको अद्भुत संगम हो। कठिन राजनीतिक परिस्थितिमा पनि उनीहरूले मार्क्सवादी विचारलाई अडिक राखी, नेपालमा कम्युनिस्ट आन्दोलनलाई जनमुखी र शान्तिप्रिय धारमा अघि बढाए।”
ज्ञवालीले सोभियत संघको गठनदेखि विघटनसम्मको ऐतिहासिक पृष्ठभूमि र त्यसको अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनमा परेको प्रभावबारे चर्चा गर्दै भने — “सोभियत संघको पतन मार्क्सवादको असफलता होइन, विशिष्ट राजनीतिक–आर्थिक कारणहरूको परिणाम हो। सच्चा कम्युनिस्टहरूको मार्ग हिंसा होइन — न्याय, समानता र जनहितको बाटो हो।”

उनले प्रतिष्ठानलाई समुदायसँग प्रत्यक्ष जोडिएर प्राविधिक शिक्षा विस्तार, विश्वविद्यालयसँग सहकार्य, सीटीईभिटी कार्यक्रम, वार्षिक मुखपत्र प्रकाशन र प्रविधिमैत्री शिक्षण पद्धति विकासमा अग्रणी भूमिका खेल्ने संकल्पबद्ध संस्था बनाउन प्रतिबद्धता जनाए।

साधारण सभाले सर्वसम्मत निर्णयमार्फत प्रदीप ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गएको छ । जसमा प्रदीप ज्ञवाली – अध्यक्ष, रामेश्वर फुयाल – उपाध्यक्ष, मधु तिमिल्सिना – सचिव, सरोज दाहाल – कोषाध्यक्ष, विदुर प्रसाद ढुंगाना – सदस्य, कृष्णहरि थापा – सदस्य, श्रीकृष्ण चापागाई – सदस्य, सुदर्शन चापागाई – सदस्य, सुरेश प्रसाद निरौला – सदस्य, दिव्या कुमारी घिमिरे – सदस्य, सुरेश प्रसाद चापागाई – सदस्य छन् ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्याललाई सम्मान समेत गरिएको छ । कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले आफ्नो क्षेत्रमा रहेको उक्त प्रतिस्ठानलाई आफूले आवस्यकता अनुसार सहयोग गर्ने आश्वासन दिएका छन् ।

३० वर्ष एउटै क्षेत्रमा अविरल सेवा दिएर सराहनीय कार्य गर्न सक्ने यात्रा प्रेरणादायी भएको उल्लेख गर्दै उनले विश्वविद्यालयको तर्फबाट प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरूमा निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए।
यस्तै कार्यक्रममा बोल्दै एमाले पोलिट्ब्युरो सदस्य
एमाले नेता कृष्ण राईले प्रतिष्ठान स्थापना कालदेखि नै शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे आफ्नो राजनीतिक यात्रामा मदन भण्डारीसँगको निकट सम्बन्ध र चुनावी अनुभवको स्मरण समेत गरे।

एमाले नेता आनन्द पोखरेलले स्व. प्रदीप नेपालको योगदानको सम्मान गर्दै, मार्क्सवाद, द्वन्द्वात्मक भौतिकवाद र राजनीतिक दर्शनका गहिरा पक्षबारे धारणा राखे। उनले जलवायु परिवर्तन र डिजिटल युगको चुनौतीलाई प्राविधिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिए।

यस्तै बौद्धिक व्यक्तित्व महेन्द्र पाण्डेले “मदन भण्डारीका विचार आत्मसात नगरी सच्चा कम्युनिस्ट बन्न सकिँदैन” भन्दै, प्रतिष्ठानले उत्पादन गरेको जनशक्ति र कार्ययोजनाको स्पष्ट लेखाजोखा गर्न सुझाव दिए।

कार्यक्रमको अन्त्यमा कार्यवाहक अध्यक्ष रामेश्वर फुयालले स्व. प्रदीप नेपालको नेतृत्वमा प्रतिष्ठानले पाएको उचाइबारे चर्चा गर्दै भने “शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना होइन, सिर्जनशील, सीपयुक्त र आत्मनिर्भर जनशक्ति निर्माण गर्ने माध्यम हो।”
उनले गरिब, दलित, महिला, आदिवासी, जनजाति तथा दुर्गम क्षेत्रका विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र रोजगारी–मुखी तालिम उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याए। साथै, प्राविधिक शिक्षा, डिजिटल माध्यम र कृत्रिम बुद्धिमत्ता (AI) सम्मिलित शिक्षण प्रणालीलाई प्रतिष्ठानको प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे।

कार्यक्रममा उक्त सभाले“समृद्ध नेपाल, सुखी नेपाली” को मार्गमा, मदन भण्डारी र जिवराज आश्रितका विचार र मार्गदर्शनलाई जीवन्त राख्दै, शिक्षा, विज्ञान, प्रविधि र समाज रूपान्तरणको अग्रपङ्तिमा प्रतिष्ठानलाई उभ्याउने। निर्णय गरेको छ ।

Tags

छुटाउनु भयो कि ?