अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता तत्काल अन्त्य गरिएको घोषणा गरेका छन्। साथै, उनले चाँडै क्यानडाली सामानहरूमाथि नयाँ भन्सार दर तोक्ने चेतावनी पनि दिएका छन्।
क्यानडाले डिजिटल सेवा कर लागू गर्ने घोषणा गरेपछि वार्ता अन्त्य गरिएको ट्रम्पले बताएका छन्। उनले भने, “यो कर सिधा र खुल्ला रूपमा हाम्रो देशमाथिको हमला हो। यसलाई लिएर हामी क्यानडासँग चलिरहेको सबै व्यापार वार्ता तुरुन्त अन्त्य गर्छौं। अब सात दिनभित्रै क्यानडाले अमेरिकासँग व्यापार गर्दा तिर्नुपर्ने भन्सार दर जानकारी दिइनेछ।”
क्यानडाले सोमबारदेखि लागु हुनेगरी डिजिटल सेवा कर लागू गर्न लागेको छ। यस करले अनलाइन सेवा दिने कम्पनीहरूलाई प्रभावित पार्नेछ, विशेषगरी मेटा, एप्पल, गुगल, अमेजन, र माइक्रोसफ्टजस्ता अमेरिकी प्रविधि कम्पनीहरूलाई। अमेरिकी अधिकारीहरू र ट्रम्प प्रशासनले डिजिटल सेवा करलाई “गैर(भन्सार व्यापार अवरोध” भन्दै विरोध गर्दै आएका छन्।
अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले क्यानडाको कदमलाई “अन्यायपूर्ण र प्रतिगामी” भने। उनले भने, “यो कर ट्रुडो सरकारको अवधिको हो, हामीले आशा गरेका थियौं कि मार्क कार्नी नेतृत्वको नयाँ प्रशासनले यसलाई रोक्नेछ। तर उनीहरूले त्यसो गरेनन्।”
बेसन्टका अनुसार ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने सम्पूर्ण वस्तुमाथि उच्च भन्सार दर लगाउने तयारी गरिरहेको छ। यद्यपि कुन दर लाग्ने हो भन्ने अझै खुलाइएको छैन।
संयुक्त राज्य अमेरिकाका लागि क्यानडा सबैभन्दा ठूलो आयातकर्ता हो—गत वर्ष मात्र क्यानडाले ३४९ अर्ब डलर बराबरका अमेरिकी वस्तुहरू आयात गरेको थियो। उता, अमेरिकाले ४१३ अर्ब डलर बराबरका क्यानडाली वस्तुहरू आयात गरेको थियो।
अमेरिकाले क्यानडामाथि उच्च भन्सार दर लगाएमा क्यानडाले पनि अमेरिकी वस्तुमाथि प्रतिशोध स्वरूप भन्सार लगाउने सम्भावना छ, जसले दुबै देशको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ।