इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्नतः यो युद्धलाई नलम्ब्याउने पक्षमा पुगेका छन्।
इजरायलले आणविक हतियार राखेको आरोपमा आक्रमण थालेको एक सातापछि युद्धमा जोडिएको अमेरिकाले इरानका तीन आणविक केन्द्रमा बम हानेको थियोे। तर उसको उक्त निर्णय प्रत्युत्पादक सावित भयो। इरानले गयराति कतारस्थि अमेरिकी सैन्य बेसमै ६ वटा मिसाइल हानेर धावा बोलिदियो। त्यसपछि इरानको शासक नै फेर्ने अभियानमा रहेका ट्रम्प युद्ध विराम घोषणा गर्न पुगेका छन्।
इरानको सरकारी समाचार एजेन्सी इर्नाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९(आईआरजीसी) को वक्तव्य उद्धृत गर्दै इरानबाट प्रक्षेपित ६ वटा मिसाइल कतारको अल उदैदस्थित अमेरिकी सैन्य बेसमा खसेको पुष्टि गरेको छ।
यस आक्रमणलाई गत साता अमेरिकाद्वारा इरानका प्रमुख परमाणु स्थलमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको थियोे।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अमेरिकी सैन्य हवाई बेस अल उदैदमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ। उसले चेतावनी दिँदै यदि अमेरिका वा उसका सहयोगीले फेरि आक्रामक कार्य गरे इरानले बल प्रयोग गरेर जवाफ दिने जनाएको थियोे।
आक्रमणको बेलामा दोहाको आकाशमा आगोको ज्वालाहरू देखिएका थिए। अल उदैदको मिसाइल रक्षा प्रणाली सक्रिय रहेको दृश्य पनि देखिएको थियो। कतारको राजधानी वरिपरि धेरै ठूला विस्फोटहरूको आवाज पनि सुनिएको थियो।
कतारको परराष्ट्र मन्त्रालयले यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको थियो। दोहाले आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित राखेको बताएको थियो।