उद्यमशील कांग्रेसको आयोजनामा ‘देशको अर्थतन्त्र र अगाडि बढ्ने बाटो’ विषयक अन्तर्क्रिया सम्पन्न भएको छ।
अन्तर्क्रियाका क्रममा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अर्थशास्त्रीहरूसँग वर्तमान सरकारको डेलिभरी र कांग्रेसले निभाउनुपर्ने भूमिकाबारे सुझावसमेत मागेका थिए।
कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, बजेटको स्रोत, बजेटमा समेटिएका विषय र बजेट कार्यान्वयनको चुनौतीबारे गहन विश्लेषण भएको थियो।
नेपालमा रोजगारी सिर्जना कसरी गर्न सकिन्छ? देशको अर्थतन्त्र सुदृढ गर्न युवाको भूमिका कस्तो हुनुपर्छ? नीतिगत सुधारका लागि कस्तो कदम चाल्न आवश्यक छ? बजेटले आमजनताको निराशा कसरी चिर्न सक्छ? युवालाई स्वदेश फर्कने वातावरण बनाउन के गर्नुपर्छ? भ्रष्टाचार नियन्त्रण गरी आर्थिक पारदर्शितालाई कसरी प्रभावकारी बनाउन सकिन्छ? आदि विषयमा कोइरालाले विज्ञहरूसँग सुझाव लिए।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, व्यावसायिक शिक्षा, लगानीमैत्री वातावरण र स्टार्टअपका मुद्दामा केन्द्रित हुन अधिकांश वक्ताले सुझाव दिएका थिए।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइराला, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. पृथ्वीराज लिगल, जगदिश चन्द्र पोखरेल, अर्थशास्त्रीहरू प्राडा बिश्वम्भर प्याकुरेल, प्रा डा. विनय कुसियत, प्रा डा. ओम शर्मा, प्रा डा. संजय आचार्य, अर्थराजनीतिज्ञ पुरन्जन आचार्य, डा. रेवत बहादुर कार्की, डा प्रताप छतकुली, डा. ज्ञानमणी अधिकारी, उपप्राध्यापक नबिन खनाललगायतले बजेट सम्बन्धमा कोइरालाले राखेका जिज्ञासामा महत्त्वपूर्ण सुझाव दिएका थिए।
उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाले कार्यक्रममा जागरुक युवा, विभिन्न विषयका विशेषज्ञ, नीति विश्लेषक, योजना आयोगका पूर्वपदाधिकारी, पत्रकार, उच्च प्रशासनिक व्यक्तित्व, प्राध्यापक, संविधानविद्को उल्लेख्य उपस्थित रहेको बताए।
विज्ञ र वरिष्ठ नेता कोइरालाबिचको अन्तर्क्रिया प्रेरणादायी भएको र कांग्रेसका लागि मार्गदर्शनसमेत भएको सिटौलाले बताए। वर्तमान आर्थिक संकट, अर्थनीति, बेरोजगारी, उद्यमशीलता र देशको आर्थिक भविष्यबारे विचार आदान-प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिटौलाले बताए।