गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो यस प्रकरणमा संलग्नता नरहेको र हुनै नसक्ने जिकिर गरे ।
‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म खेद व्यक्त गर्छु ।’ उनले भने ।
उनले अख्तियारले छानबिन गर्दा मन्त्री वा सरकारसँग जोड्ने हो भने विगतमा भ्रष्टाचारबारे छानबिन हुँदा कति मन्त्रीहरूले जवाफ दिए ? भन्दै प्रश्न गरे । आफू लोकतन्त्र र सुशासनको लागि वर्षौँदेखि लडिरहेको र विधिको शासनको लागि आवाज उठाइरहेको लेखकको भनाइ थियो ।
’विगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनु भएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ। समयको लागि आभार व्यक्त गर्छु,’ उनले भने, ’धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु। मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु।’