नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग)कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कर्णालीमाथिको अपमान सहन नसकिने चेतावनी दिएका हुन् ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद, अपमान र अन्याय गर्न खोजेको बताए । ‘खबरदार! यसमा हामी कर्णाली जनतासँग मिलेर सरकारको यो रवैयाको विरोध गर्छौं,’ उनले भने ।
यस्तै माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणासमेत गरे ।
उनले भने, ‘हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्यौं। चीनसँगको सहकार्यबाट कर्णाली लगायत देशको उत्तरी सीमामा रहेका नागरिकका लागि आर्थिक अवसरको ढोका खोल्ने पहल गरियो।’उनले जनयुद्धकालमा कर्णालीको भूमिकालाई स्मरण गर्दै भने, ‘जनयुद्ध सुरु हुँदा हामीसँग दुईटा मात्र हतियार थिए। कर्णालीका योद्धाहरूले राज्यका हतियार कब्जा गरेर पार्टीलाई बुझाएपछि हामीसँग आवश्यक सम्पूर्ण हतियार भए।’
कर्णाली क्षेत्र नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएको भन्दै उनले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैँ प्राथमिकता दिएको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचार र दलाली प्रवृत्तिलाई संरक्षण गर्ने र इमानदार प्रयासलाई दण्डित गर्ने दिशामा गएको टिप्पणी गरे।