विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु विहीबारदेखि घर फर्कने भएका छन् । उनीहरु अब विद्यालयमा फर्केर विद्यार्थीको भर्ना, कापीजाँच र १२ कक्षाको परीक्षामा सहभागी हुनेछन् ।
शिक्षा ऐन गोजीमा बोकेर मात्र घर फर्कने बताउँदै आएका शिक्षकहरु अन्ततः तीन पाना उधारो सम्झौता गोजीमा हालेर घर फर्कन सहमत भएका हुन् ।
कांग्रेसका प्रमुख सचेतक श्यामकृष्ण घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला र शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले आगामी असार १५ गते भित्र शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता जनाएपछि शिक्षकहरुले बुधबारदेखि आन्दोलन स्थगित गरेका हुन् ।
मंगलबार र बुधबार शिक्षकहरुसँग भएको दुई दिने वार्तामा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलको सहभागिता रहेको थियो । मन्त्रीहरुको रोहबरमा शिक्षक र सरकारबीच सहमति जुटेको हो ।
वार्तामा सहमति जुटेपछि त्यसलाई मन्त्रिपरिषद बैठक बसेर अनुमोदनसमेत गरिएको थियो ।
वार्तामा भएको ९ बुँदे सहमतिमा शिक्षामन्त्री रघुजी पन्तले एकल हस्ताक्षर गरेका थिए । उक्त सहमति मन्त्रिपरिषद बैठक बसेर बुधबार नै अनुमोदन गरिएको थियो ।
९ बुँदे सहमतिमा आन्दोलनका क्रममा घाइते भएका शिक्षकको निशुल्क उपचार गर्ने, सिभिल अस्पताल बानेश्वरमा उपचार गर्दा शिक्षकले पनि निजामति कर्मचारी सरह सहुलियत पाउनेदेखि लिएर शिक्षकको तलब सुविधाहरुमा सरकारले वृद्धि गर्ने आश्वासनहरु दिइएको छ ।