नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ ।
बुधबार कमलादीमा पार्टी एकता घोषणा स्थलबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको थियो । तर मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देदिएपछि सर्वोच्चले उनको रिहाइका लागि पत्र पठाएको हो ।
सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए । जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो ।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।