परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी छन् ।
उनले जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताइन् ।
भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा शनिबार आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा रहेको बताइन् । उनले नेपाल शान्तिको पक्षमा रहेको स्पष्ट पारिन् ।
‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।’
मन्त्री डा राणाले आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताइन् ।
नेपाल आतङ्कवाद विरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको पराराष्ट्रमन्त्रीको भनाइ थियो । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उनले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य समेत रहेको बताइन् ।