• २०८२ बैशाख २९, सोमबार ( )
टप खबर

शिक्षकका गर्न सक्ने माग सरकारले पूरा गर्नुपर्ने गगन थापाको भनाइ

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आज यहाँ आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताए ।

पार्टीका नेतामा गुटप्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ थियो । गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उनले जोड दिएका हुन् ।

शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड थियो । कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भई संविधान जारी भएको उल्लेख गर्दै उनले देखिएका समस्या समाधानमा समाजले कांग्रेसकै भूमिका खोजिरहेको बताए ।

कांग्रेस सहममहामन्त्री जीवन परियारले पार्टीभित्र नीति, सिद्धान्तका बारेमा बहस चलाउनुपर्नेमा जोड दिए । लामो बहस र छलफलबाट बन्ने नीति, नियम एवं कानुन नै व्यावहारिक हुने भएकाले यसमा सबैको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उgले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताए । मुलुकको शीर्ष नेतृत्व वैधानिक भए पनि वैध नभएकाले नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै वैध नेतृत्व ल्याउन सबैको सहयोग हुनुपर्ने उनको विचार थियो ।

Tags

छुटाउनु भयो कि ?