नेपाल विद्युत् प्राधिकरणले विद्युत व्यवस्थापन गर्न कठिन भइरहेको बताएको छ । भारतमा विद्युत् माग उच्च भएपछि नेपालमा विद्युत् निर्यात रोकेको छ । प्राधिकरणले माग र आपूर्तिबीचको सन्तुलन मिलाउन नसक्दा उद्योगहरूमा लोडसेडिङ गर्नुपरेको जानकारी दिएको छ ।
सुक्खा मौसम र नदीनालामा बहाव घटेको कारण जलविद्युत् उत्पादनमा असर परेको प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुसार, जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औसतमा एक हजार १७५ मेगावाट मात्र रहेको छ । तर, देशको उच्चतम माग (पिक लोड) दुई हजार ७७ मेगावाट पुगेसँगै उत्पादन र मागबीच ठूलो अन्तर देखिएको छ । यसका कारण भारतबाट विद्युत् आयात गरेर आपूर्ति गर्नुपरेको र बिजुली किन्न नपाइएको प्राधिकरणको भनाइ छ ।
मैनैया–सम्पतिया १३२ केभी लाइनबाट बिहान २ देखि ६ बजेसम्म र बेलुका ६ देखि ७ बजेसम्म गरी जम्मा ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । ऊर्जा खरिद बिक्री बजार (आईईएक्स)मार्फत पनि विद्युत् खरिदको प्रयास भइरहेको छ । बिहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ देखि बिहान ४ बजेसम्म आईईएक्सबाट आपूर्ति लिने प्रयास गरिए पनि अत्यधिक मागका कारण नेपाललाई चाहेजति विद्युत् प्राप्त हुनसकेको छैन ।
‘हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ’ प्राधिकरणले भनेको छ, ‘नपुग विद्युत भारतबाट आयात गरी आपुर्ति गर्ने गरिएको छ। गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न पाएको छैन।’
यसबीचमा केही औद्योगिक क्षेत्रहरूमा अस्थायी लोड कटौती गरिएको भए पनि माग र आपूर्तिको सन्तुलन मिलाउन अधिकतम प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।